संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रेस विज्ञप्ति (नयाँ कार्यक्रमसहित)

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा 
 प्रेस विज्ञप्ति
 २०७२ पौष ३

२०७२ पुस २ र ३ गते तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुरको अध्यक्षतामा तमलोपा कार्यालय बिजुली बजार, काठमाडौंमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सर्वसम्मतिबाट निम्नानुसारका निर्णयहरु गरेको छ ।

  1. संघीयता भनेको केन्द्रमा साझा राज्य तथा प्रदेशहरुमा स्वायत्त राज्यको अवधारणा हो । त्यसैका लागि हामीले पहिचानसहितको संघीयता, जातीय समानता, राज्यका अंगहरु लगायत सबै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिता तथा आफ्नो क्षेत्रमा स्वशासनको नैसर्गिक अधिकारको माग गरेका हौं । यसैका लागि आज १२६औं दिनसम्म पनि मधेशी जनताको संघर्ष जारी छ । सरकारद्वारा गरिएको निर्मम दमन र नृशंस हत्या भई ५५ जनाले शहादत प्राप्त गरिसकेको अवस्थामा पनि आमहडताल, शान्तिपूर्ण प्रदर्शन, धर्ना, सत्याग्रह लगायत विरोधका कार्यक्रमहरु जारी छ । तर, राज्यका संचालकहरुको वर्चस्ववादी सोच र एकल समुदायमा आधारित अन्धराष्ट्रवादी मानसिकतामा परिवर्तन आएको छैन । सरकारको नेतृत्वमा रहेकाहरुबाट मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित लगायत सीमान्तकृत जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम रोकिएको छैन । सरकारले अहिलेसम्म औपचारिक वा अनौपचारिक वार्ताको १५ भन्दा बढी गरिसकेको छ तर गम्भीरता कतै देखिएको छैन । वार्ता र संवादबाट मधेशी, आदिवासी जनजाति, थारू, मुश्लिम, दलित लगायत सीमान्तकृत समुदायहरुका मुद्दाहरुको सम्बोधनप्रति स्पष्ट दृष्टिकोणको अभावले गर्दा नै वार्ता परिणाममुखी हुन नसकेको हो ।  सरकार र शासक पक्षको हलुकापनले निष्कर्षको संभावना क्षीण भई वार्ता औचित्यहीन बन्न पुगेको हाम्रो  ठहर हो ।
  2. देशका बहुसंख्यक जनताद्वारा अस्वीकृत असमावेशी, विभेदकारी तथा जनविरोधी संविधानको जनचाहना अनुरुप सबै मुद्दाहरु समेटी पुनर्लेखन्÷परिमार्जन गर्नु पर्नेमा जनतालाई भ्रमित गर्न नेपाली कांग्रेस र सरकारले संयुक्त रुपमा संसदमा संविधान संशोधन सम्बन्धी विधेयक ल्याएको छ । यस विधेयकले विगतमा प्रयोग भइसकेको समानुपातिक समावेशीकरणको मान्यतालाई बिकृत बनाई १७ वटा क्लष्टर बनाउने तथा एकात्मक राज्यलाई निरन्तरता दिने षड्यन्त्र स्वरुप संघीय राज्यलाई प्रदेशहरुको संघ बनाउने मान्यता विपरीत ७५ जिल्लालाई नै आधार बनाई जनसंख्या र भौगोलिक विशिष्टताका  आधारमा सीट विभाजन गर्ने प्रस्ताव अघि सारेको छ । यसले मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम, दलित लगायतकाले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएकाले यो हाम्रो लागि मान्य हुन सक्दैन ।
  3. आन्दोलनका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको परिचालन गरी मधेश र थरुहटमा राज्य आतंकको सृजना गर्ने कार्य जारी राखी राखेकोमा त्यसको घोर भत्र्सना गर्दै जनताको बढ्दै गएको कष्टकर जीवन र विभिन्न कठिनाइका बावजूद विभेदबाट उन्मुक्तिको लागी संघर्षको विकल्प नभएकोले जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त जनसंघर्षको रुपमा अगाडि बढाउन शान्तिपूर्ण संघर्षका निम्नानुसारको कार्यक्रम सार्वजनिक गर्दछौं तथा मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित लगायत सम्पूर्ण आन्दोलनकारी दाजुभाई दिदीबहिनी तथा सीमान्तकृत उत्पीडित आम नागरिकलाई जारी आन्दोलनमा पूर्ववत् सक्रिय सहभागिता तथा समर्थन गर्न अपील गर्दछौं ।
    आन्दोलनका कार्यक्रमहरु

    • २०७२ पौष ५ गते आइतवार जिल्लाको सदरमुकाममा भेला भई जनतालाई भ्रमित गर्न नेपाली कांग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धी विधेयकको प्रति जलाउने,
    • २०७२ पौष ७ गते मंगलवार नगर, गाविसको चोकबजारमा भेला भई जनतालाई भ्रमित गर्न नेपाली कांग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धी विधेयकको प्रति जलाउने,
    • २०७२ पौष ९ गते बिहीवार जिल्लाको सदरमुकाममा विरोध स्वरुप मशाल जुलूस प्रदर्शन गर्ने,
    • २०७२ पौष ११ गते शनिवार जिल्लाको सदरमुकाममा भेला भई विशाल विरोध प्रदर्शन र सभा गर्ने,
    • २०७२ पौष १५ गते बुधवार जिल्लाको सदरमुकाममा भेला भई विरोध स्वरुप लाठी जुलूस प्रदर्शन गर्ने
  4. आन्दोलनलाई राष्ट्रव्यापी स्वरुप प्रदान गर्न आन्दोलनरत दलहरु, संगठन र संस्थाहरु लगायतसँगको कार्यगत एकतालाई अगाडि बढाइने छ,
  5. मधेश आन्दोलन विरुद्ध मधेशमा हुने मन्त्री, सांसदहरु लगायतको सबै सरकारी वा सरकार समर्थित कार्यक्रमहरुलाई अवरुद्ध गर्नुका साथै जनप्रतिरोध समेत गरिने छ,

हस्ताक्षरकर्ता:

उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र राम नरेश राय
(संघीय समाजवादी फोरम, नेपाल तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी तराई मधेश सद्भावना पार्टी, नेपाल)