मण्डलजीको नजरमा मधेस आन्दोलन

– राजनैतिक विश्लेषक तुला नरायण साहको फेसबुकबाट

रामसेवक मण्डल धनुषाको सुगा निकास–२ निवासी हुन् । उनको गाउँ जनकपुरदेखि ११ किमी पूर्वउत्तरमा पर्छ । श्रीमतिको उपचारकोलागि जनकपुर आएको बेला आज विहान मिल्स एरियाको एक चिया पसलमा संयोगले उहाँसँग भेट भयो । सामान्य भिडभाड भएको उक्त पसलमा हामी एउटै मेचमा बस्न पुगेका थियौँ । महिनौदेखि जारी मधेस आन्दोलनबारे गाउँ देहातमा बस्ने मधेसीजनको धारणा बुझने उद्देश्यले मैले केही प्रश्नहरू राखेँ उहाँलाई । मैथिलीमा भएको अनौपचारिक संवादमा मण्डलजीको जवाफहरू प्रभावशाली लागेर पोष्ट गरेको हुँ । मधेस आन्दोलनको भित्री पाटाहरू बुभ्ने इच्छुक मित्रहरूको लागि यो रुचीकर पनि हुनसक्छ ।

# मधेस आन्दोलन किन भइरहेको छ ?

— हामीसँग बेइमानी भएको छ । हामी मधेसीहरूलाई अधिकार दिएको छैन, यो संविधानमा ।

# कसरी भयो बेइमानी ?

— तपाइँलाई थाहा छैन ? ल सुन्नुस्, घरमा पाँच दाजुभाई छ भने पुर्खाको सम्पति बराबर बाँड्ने कि एकभाइलाई धेरै अनि अर्कोलाई थोरै दिने ? अहिले माननीयको क्षेत्र मधेसमा थोरै दिने भन्छ । जनता बढी मधेसमा माननीय धेरै पहाडबाट ? यो कसरी हुनसक्छ ?
हाम्रो छोराछोरी जागिर पाउँदैन । कोटा हुनुप¥यो नि, मधेसीयालाई । समावेशी समानुपातिक हुनुपर्यो ।

# यो के हो समावेशी समानुपातिक ?

— सरकारी नोकरीमा हाम्रो मधेसीयाको बच्चालाई कोटा हुनुप¥यो । जति हाम्रो जनसँख्या छ, त्यति । भाषा तपाईहरू मिलाउनुस् । हामी पढेलेखेको छैन । पढेर के गर्ने, नोकरी नै पाउँदैन मधेसीहरूले । कोटा हुनुप¥यो । त्यही हो समावेशी समानुपातिक ।

# अब कति दिन आन्दोलन गर्नुहुन्छ ? धेरै लामो भयो नि ?

— ए….अहिले त चारै पाँच महिना भयो । तपाईलाई थाहा छैन, अफरिकामा साढे पाँचवर्ष आन्दोलन चलेको थियो । जेल बस्नु पर्छ । अनि मात्रै अधिकार पाइन्छ । बाँचेर पनि के गर्ने, यो देशमा मधेसीयाको कुनै इज्जत छ ? मरले सरह त हो नि सर ? हेरिहाल्नुस राजिन्दर महतोको हालत । विराटनगरमा पुलिसले कसरी पिटेको छ ?

# आन्दोलन गर्यो भने त धेरै मान्छे मारिन्छ नि ?

— के फरक पर्छ, अहिले जति मधेसीया जनता छ, त्यसको एक परसेन्ट पनि मरेको छ ? अबको आन्दोलनमा हामी बुढापाकाहरू अगाडि रह्नुपर्छ । हामी मरेपनि खासै फरक पर्दैन । तर यसपटक वार कि पारको लडाई छ । अभी नै त कभी नै ।
——- ——-
यतिकुरा सुनिसकेपछि मलाई उहाँ आम मधेसीभन्दा बढी जागरुक र राजनीति चेतना भएको जस्तो लाग्यो । मैले सोधेँ, यी सब कुराहरू तपाई कहाँबाट, कसरी सिक्नुभयो ? उहाँको जवाफ झनै चकित तुल्याउने खालको थियो ।

“तपाई दिपेन्दर झालाई चिन्नुहुन्न ? जेनीभा गएर तहल्का मचाईदियो उसले । जेनीभा धेरै टाढा छ, विदेशमा । धेरै देशका नेताहरूले मधेसबारे बुझे । उसको इन्टरभ्यूहरू १०५ मेगावाला रेडियोमा सुनेको छु । धेरै राम्रो कुराहरू गर्नुहुन्छ । रेडियो, टिभी सुनेपछि सबैकुरा थाहा भइहाल्छ नि । म पढेलेखेको पनि छु । पत्रिका पनि पढ्छु ।”

# तपाई कति पढ्नु भएको छ ?

– मैट्रिक पढेको छु ।

उनी माओवादी पार्टीको वा कुनै मधेसी पार्टीको सक्रिय कार्यकर्ता हुनुपर्ने जस्तो लागेर मलाई उनको राजनीति पृष्ठभूमि सोध्न मनलाग्यो । मैले सोधेँ, तपाई अहिलेसम्मको माननीय चुनावमा कुनकुन पार्टीलाई भोट दिनुभएको छ ? 

शुरुमा हाथी छापमा भोट दिएको थिएँ, हेमबहादुर मल्ललाई । पछि घोडा छापमा भोट हालेँ, गिरि नेताजीलाई । त्यसपछि आनन्द ढुङ्गानालाई । यता आएर रामकृष्ण यादवलाई । गएको निर्वाचनमा रामचन्द्र माटसाबलाई ।

पञ्चायतकालिन राजनीतिमा धनुषाको शेर भनेर चिनिने हेमबहादुर मल्लको हाथी छाप हुने गथ्र्यो । उनको प्रतिद्वन्दी गीरिजीको घोडा छापमा । बहुदल आएपछि आनन्द ढुङ्गाना नेपाली काँग्रेसको धनुषा ३ बाट निर्वाचन लड्थे । लोकतन्त्र आएपछि त्यसभेगबाट काँग्रेसको टिकटमा रामकृष्ण यादव र माओवादीबाट रामचन्द्र मण्डल चुनाव लडेका नामहरू हुन् । यसो हेर्दा उनी कुनै एकपार्टीको होइन बरु जित्ने वा निकटतम प्रतिद्वन्दीलाई भोट दिँदा रहेछन् ।

संवादलाई बिट मार्दै मैले सोधेँ, तपाईले भोट दिएका नेताहरू अहिलेको आन्दोलनमा छ कि छैन ?

“छैन । तिनीहरू खोखला राष्ट्रवादको कुरा गर्छ । तपाई हिजोको समाचार सुन्नुभएन ? इन्डिया टाइममा काम गर्ने एकजना झाले भनेको ? यीनीहरू सब खोकला राष्ट्रवादको कुरा गर्छन् । त्यसमा मधेसीया कतै छैन । उसको कुरा पनि बेजोड रहन्छ । १०५ मेगामा आइरहन्छ ।”

मण्डलजीले भनेको इन्डिया टाइम शायद हिन्दुस्तान टाइम्स हुनुपर्छ र उनले भनेको झा सम्भवतः प्रशान्त झा हुनुपर्छ ।