बुढो काठमाडौँलाई नयाँ पुस्ताको खुला संदेश

Guest Post by शालिक शाह

Salik Shahनेपाल देश काठमाडौँ खाडल भित्र सिमित छ जस्तो लाग्छ। बाहिर के भै’राछ कसैलाई चासो छैन। समय र नारा बदलिए पनि, हामी  बिर्सन्छौ देशको, काठमाडौँको समस्या खासै बदलेको छैन ।

काठमाडौँको सोच, अरुलाई हेर्ने दृष्टिकोण, बुझाई साँघुरो, छोटो र होचो छ। काठमाडौँको ‘लिविंग, कलेक्तिव मेमोरी’ भनेको आज हो। यसलाई भूत वा भविस्यको कल्पना गर्ने न त फुर्सत छ, न त बानी-अवसर। आजको संकट टार्न धौ-धौ भैरहेको काठमाडौँले दिगो निर्णय लिन सक्दैन। ऊ आजको नेताले भनेको सबै ठीक भनेर आफुलाई ढाँटन् खोज्छ, अनि नेपाललाई पशुषाला बनाऊनुमा आफ्नो गल्ती देख्दैन, स्वीकार्दैन। ऊ जर्ज अर्वेलको कथा ‘अनिमल फार्म’ को जन्तु जस्तै सबै छिमेकीले बिगारेको, सबै छिमेकीकै दोष हो भन्दै हिद्छ ।

आफुलाई दुख: नपरुञ्जेल, उसले अरुको दुख: देख्दैन, बुझ्दैन। पटक-पटक जनतालाई बन्दुक उठाउन बाध्य गराउने काठमाडौँ हो, उसले सम्झनु-बुझ्नु पर्ने। आफ्ना नेताका “मधेसका मानिस/नेता हाम्रा होइनन्, विदेशी एजेन्ट हुन् । यिनीहरु गोली हानेर मार्नु पर्ने भुस्या कुकुर हुन्।” जस्तो गरि व्यवहार गरेको देख्दा सम्झन्छु बुद्धले नेपाल छोडेको, सोच्छु नेपालीले नेपाल हारेको।

सडकमा उत्रिएका, उत्रिन बाध्य भएका जनताका समस्या र माग बारे आफ्नो फेसबुकमा केहि नलेख्ने तर अरुको देश र नेतालाई आफुलाई बल्ल समस्या भएपछि गाली गर्दै हिड्ने प्रवृति काठमाडौँ खाडलको आजको दैनिक चरित्र भैसकेको छ।

भारतमा जनतालाई मार्दा, त्यहाँका लेखकहरुले आफ्नो पुरस्कार फर्काएर मोदी-सरकारको रवैया र नीतिको विरोध जताए। नेपालमा यस्तो स्वफूर्त जनचेतना हेर्न पाईन्न। हाम्रा बुध्धिजिवी अनि लेखकको कद साँचै यति छोटो छ त? गिरीश गिरी जी र विजयकुमार जी लाई बोल्न धेरै समय लाग्यो! तपाईंहरुले बेलैमा बोलेको भए प्रशान्त झाले भारतमा ‘मधेशमा मान्छे मार्दै छन्, लौ न केहि गर्नुस्।’ भनेर भारत सरकारलाई बिलौना गर्न किन पर्थ्यो? बाबुराम त अर्वेलको कथाको स्क्विलर पो हुन्। के उहाँले मधेश गएर माफी नमागे तपाईं बोल्न सक्नु हुन्थ्यो? कि तपाईं बन्दुकसँग डराएरै बस्नु हुन्थ्यो?

काठमाडौँ न्यु योर्क, लन्डन, दिल्ली र बम्बई जस्तै रुखो, स्वार्थी र अन्तर्मुखी महानर हुँदै गरेको भान हुन्छ। यहाँ अब समय र नारा मात्र बदलिन्छ, समस्याको जड खाडल मानसिकता फेरिनेवाला छैन। तपाइँ जे गर्नुस् काठमाडौँ बदलिनेवाला होईन: हामी अब इन्टरनेटबासि, ‘काठमाडौँ’ भर्तुअल-रियालती बासि हुने। हिजो भोलिमा लिप्त थियो, अबको काठमाडौँ ‘आज के गर्ने, के खाने-पिउने? आज के लगाउने, अनि कता घुम्न जाने?’ मा कैद हुदैं जाला भन्ने डर छ।

महानगर भनेको कृष्ण छिद्र हो, यसले निले पछि निल्यो। महानगरको क्रुर यथार्थबाट बचाऊन महा-मानव अथवा सुपर-हिरोको कल्पना त्यहाँका बच्चा-युवाले गर्दछन्। म काठमाडौँमा हिन्दि राज कमिक्स र अंग्रेजी मार्भल, डि.सी. कमिक्सका सुपर-हिरो पढेर हुर्केको केटो, अझैसम्म साइन्स-फिक्सन पढ्दै अनि लेख्दैछु।

मलाई मधेश समस्या बारे खाली यति भन्नु छ: आज मधेस रोईरहेको बेला, “कठैबरा” सम्म पनि भन्न् नजान्ने तपाईं कस्तो नेपाली? घृणा, स्वार्थ र साम्प्रदायिकताको राजनीति कसैको निम्ति हितकर हुन सक्दैन, बेलैमा सचेत भैदिए जाति।

आफुलाई ‘मधेशी’ भएकोमा गर्व गर्ने नेपालीहरुलाई एक पटक काठमाडौँको चरित्र, सोच र त्यसबाट उत्पन्न चिसो व्यवहार राम्ररी केलाएर-बुझेर, उसलाई कसरी उदारता र सहानुभूतिका साथ आफ्नो बाटो ल्याउन सकिन्छ? कसरी आफ्नो कुरा सृजनात्मक, साहित्यिक, कलात्मक अनि शान्तिपूर्ण तवरले देशलाई बुझाउन सकिन्छ? हो त्यस तर्फ कटिबद्ध भएर लाग्नुस् भन्ने विनम्र अनुरोध। माओवादीले ल्याउन नसकेको संस्कृतिक क्रान्ति तपाईंहरुले देशमा शान्तिपूर्ण तरिकाले ल्याऊनु पर्छ। उनीहरुले सिकाएको भाद-भैलो, अंशबन्दाको राजनीति छोडी, तपाईंहरुले मार्टिन लुथर किङ्गको जस्तो नयाँ राजनीति र जनपरिचालनको थालनी गर्नु पर्छ, गर्न जान्नु पर्छ।

शालिक शाहलाई त्विटरमा सम्पर्क गर्न सक्नु हुन्छ: @salik