हजुरबुबा गणेश चौधरी र १७ बर्षीय नाति रोहण चौधरी निर्दोष थिए

बिक्रमप्रसाद रौनियार ।

महोत्तरी , भदौं २७ ।

करिव आठदशक उमेर पुग्नै लागेका बेला पनि कलेज, रेडक्रसका काम, टोलबस्तीका बाटोघाटो निमार्ण र मर्मत जस्ता सामाजिक काममा मरिहत्ते गरेर लागिपर्ने गणेश चौधरीको अकल्पनीय मृत्युले महोत्तरीको जलेश्वर ७ बजराहीका बासिन्दा शोकाकुल छन् ।

आफ्नो टोलबस्तीमा खानेपानी ढलनिकास र अन्य सामाजिक कामका लागि उत्प्रेरीत गरिरहने चौधरी गत शुक्रबार आफ्नै बस्ती नजिकै प्रहरीको गोली लागेर मृत्यु भएपछी बजराहीबासी शोकाकुल भएका हुन् । जीवनको युवाकालमा जनवाणी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका चौधरी बस्तीको कुनै कुनामा देखिनासाथ टोलबासीहरु बिभिन्न मार्काका कुरा सुनाउन पुग्ने गरेका थिए ।’ गाँउघरका आर्कामार्का सुन्ने गरेका  र त्यसका लागि तत्काल प्रयत्न थाल्ने उनको स्वभाव नै हाम्रा लागि कहिले नविसर्ने शोक बन्न पुग्यो ’ चौधरीकै समवयस्क सोही बस्तीका राजनितिक कार्यकर्ता केदारनाथ पाठकले भने ।

चौधरी शुक्रबार साँझ आफ्नो बस्ती नजिकैको धार्मिक मठ नजिक साईकलमा हिडिरहेका बेला प्रहरीले चलाएको गोली उनको आँखा छेड्दै पछाडी निस्कदा उनी ठाँउमै ढलेका थिए । उनको घटना स्थलमै मृत्यु भएको थियो ।

दुई दिन अघि भदौं २३ गते बुधबार दिउँसो जलेश्वरमा भएको प्रर्दशनको क्रममा बाटा हिडेका चौधरीका नाति १७ बर्षीय रोहन चौधरीको प्रहरीको गोली लागि मृत्यु भएको शोकले बिराम नपाउदै चौधरी आफै प्रहरीको गोलीले ढलेपछी उनको घरपरिवारमा लगातार रुवाबासी देखिदो छ ।

ट्युसन सकिएर घर फर्कदै गरेका रोहन चौधरीको प्रहरी र आन्दोलनकारी बीच भएको झडप क्रममा जलेश्वरको महेन्द्र चोकमा गोली लागेलगतै मृत्यु भएको थियो । जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा १० कक्षामा पढ्दै गरेका १७ वर्षीय रोहन पढेर  डाक्टर वा इन्जिनियर बन्ने ईच्छा रहेको उनका बुवा बिनय चोधरीले आँखाभरी आँशु पार्दै सुनाए । पढाईमा अब्बल रहेका उनी डाक्टर वा इन्जिनियर बनेर देशको सेवा गर्ने ईच्छा आफ्ना साथीभाई संग व्यक्त गर्थे ।

प्रहरीले आन्दोलन नियन्त्रण गर्ने नाममा निर्दोष आफन्त गुमाएका परिवारले अझै सदगत भने गर्न सकेका छैनन् । बुधबारको आन्दोलनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका रोहन र शुक्रबार त्यस्तै मृत्यु खेपेका उनका हजुरवुवा गणेश चौधरीको शव अझै जलेश्वर अस्पतालमा रहेको छ । लगातारको क्फुर्य बीच आफुहरु शव बुझ्न जान नसकेको र आन्दोलनरत दल तथा स्थानीय प्रशासनले त्यस्को तदारुक्ता नलिइदिदा मृतकको सदगत गर्न नसकिएको चौधरीका जेठा छोरा बिजय चौधरीको भनाई छ ।

जलेश्वर अस्पतालमा अहिले यी हजुरवुवा नाती सहित बुधबार प्रहरीको गोलीबाट मारिएका बिरेन्द्र बिच्छा, अमित कापर, रामबिबेक यादव र रामशिला देवी मण्डलको शव रहेको बुझिएको छ । यस बीचको आन्दोलनमा एक सशस्त्र प्रहरी सहित ७ जनाको मृत्यु भईसकेको छ । आन्दोलनमा प्रहरीले कम्मर माथी गोली चलाउनाले ताकेर हानेको भन्ने मानव अधिकारबादीहरुले टिप्पणी गरेका छन् ।

यसैगरी बाटो हिडेको निहत्था सशस्त्र प्रहरीका असई थमनबहादुर बिश्वकर्मालाई जलेश्वर चोकमा आन्दोलनकारीले अमानविय यातना दिएर पछि उनलाई थप उपचारको लागी जनकपुर लौजादै गर्दा बाटोमा एम्बुलेन्सबाट थुतेर भाला र भाटाले घोचपेच गरेर हत्या गरेको घटना निन्दनिय रहेको मानवअधिकारकर्मी ईन्सेक जिल्ला प्रतिनिधी अजयकुमार साहले बताए ।

आन्दोलनको क्रममा महोत्तरीमा घाईते भएका एक दर्जन ब्यक्तीको जलेश्वर अस्पताल र स्थानीय क्लनिकहरुमा उपचार भईरहेको छ । यस्तै, मृतक परिवारका एक जनालाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने, आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्ने र परिवारलाई तत्काल राहत दिनुपर्ने माग आन्दालकारी पक्षको रहेको छ ।

सघिय प्रदेश अन्तर्गत भएको सिमांकनको बिरोध र बिगतमा मधेशी दल बीच राज्यले गरेको सम्झौता कार्यान्वयनको माग राख्दै मधेशमा जारी आन्दोलन ह्रिसक बन्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नामबाट जारी आन्दोलनमा प्रहरीले गर्ने दमन त जगजाहेरै छ , आन्दोलनकारीले समेत घरेलु हातहतियार(लाठी , भाला , बर्छा , ढुङ्गा) प्रयोग गर्दा आन्दोलन ह्रिसक बन्दै आम टिप्पणी बाकलिएको छ । घटना भएयता दुबैतर्फबाट भएका यस्ता घटनाको विरोध गर्दै आन्दोलनमा दुबै पक्षलाई संयमित रहन आग्रह कुनै कतैबाट भएको छैन् ।

आन्दोलनले मध्य मधेश(तराई)को जनजीवन महिना दिन देखी आक्रान्त बन्दै गएको छ । बजार नलाग्ने, सवारी साधन नचल्ने ,उद्योग कलकारखाना ,सरकारी कार्यालयहरु ठप्प भईरहेको स्थितीले जनजीवन कष्टकर बन्दै गएको हो । सम्पुर्ण बिद्यालय बन्द रहेको छ जसको कारण बिद्यार्थीहरु मारमा परेका छन् ।

राज्य पक्षले मागको सम्बोधन गर्ने बिषयमा कुनै सुनुवाई गरेको छैन् भने आन्दोलनको नाममा मृत्यु हुनेहरुको संख्या समेत बढदै भएको प्रति सर्वत्र चिन्ता छाएको छ । यसरी महिनौ दिन सम्पुर्ण मधेश ठप्प हुँदा दैनिक ज्यालादारी गरेर हातमुख जार्नेहरु थप समस्यमा परेका छन् । ज्यालामजदुरी गरेर दैनिक गुजारा गर्नेहरुको घरमा अहिले सम्म चुल्हो बल्न सकेको छैन । ज्यालामजदुरी गरेर गुजार चलाउनेहरुको घरमा रहेको महिला, बालबालिका , गर्भवती महिलाले पोषणयुक्त खानेकुरा समेत खाना पाएका छैनन् । गाँउघरमा दैनिक उपभोग्यबस्तु हरुको अभाव र महंगी आकाशिदै गएको छ ।