प्रदेश नंं. २ को मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयन गर्ने फोरम नेपालको निर्णय

संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयन गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ ।

चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला भएको सहमति अनुसार जो ठूलो दल हुन्छ उसैको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो । जसअनुसार स्वभाविक ढंगले फोरम नेपालले प्रदेश सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्री चयनको गृहकार्यलाई तीब्रता दिएको हो ।

जनकपुरस्थित फोरम नेपालको जिल्ला पार्टी कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री चयनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रदेश नं. २ की प्रमुख रेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति बनेको छ ।

फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिबार गठित निर्वाचन समितिले भोलि आइतबारदेखि निर्वाचन प्रक्रियालाई अघि बढाउनेछ । यद्यपि, औपचारिक रुपमा निर्वाचनमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमति भएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिए ।

सम्भव भए सर्वसम्मत नभए निर्वाचन मार्फत् चयन हुने प्रदेशको संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदबार हुने प्रावधान छ ।
यसैगरी, प्रदेश सरकारको नियमावली मस्यौदा समितिको लागि सरोज सिंह र चञ्चमाया मोक्तान चयन भएका छन् ।

त्यस्तै, फोरम नेपालको नियमावली मस्यौदा तयारी समितिको संयोजकमा रामआशिस यादव तथा सदस्यमा सञ्जय यादव र पारस साह चुनिएका छन् । कार्यव्यवस्था समितिको लागि ज्ञानेन्द्र यादव र योगेन्द्र राय यादव चयन भएका छन् ।

Madhesi Youth

Madhesi Youth is a digital platform for young Nepalis to express themselves. We offer fact-based, data-driven and independent analysis on issues that affects Nepalis in general and Madhesis in particular.