प्रदेश न. २ को न्वारन

  • कासिन्द्र यादव, TMNC

मधेसको राष्ट्रिय मुक्तिमा नै कोचिला, मिथिला, भोजपुरा, अवध र थरुहट को मुक्ति निहित छ । अहिले मधेशको राष्ट्रिय मुक्तिको संघर्ष संकटमा रहेकोले हाम्रो प्रत्येक क्रियाकलाप र निर्णयहरु मधेशी राष्ट्रिय चेतनाको विकास र मधेशी राष्ट्रिय एकतालाई दरिलो पार्ने तिर उन्मुख हुनु पर्छ ।

दुई न. प्रदेशको संभावित नाम केवल दुई न. प्रदेशको मात्रै नभएर मधेशका अन्य भुभाग रहेका मधेसीजनको लागि चासो, चर्चा र सरोकारको विषय रहेको छ । यसै क्रममा यसका विभिन्न संभावित नामहरु जस्तै ‘मध्य मधेश’, ‘मधेस’, ‘मिथिला’, ‘विदेह’, ‘जनक’ ‘मिथिला-भोजपुरा’, ‘मिथिला-मधेस’ प्रदेश इत्यादि चर्चामा छन । यी नामहरु आफैमा गरिमामय र धेरै अर्थमा सान्दर्भिक र उपयुक्त देखिन्छ । तर अहिलेको अवस्थामा यो बिषय केवल सांस्कृतिक र एतिहासिक पहिचान र सम्मान संग सम्बन्धित नभएर समग्र मधेसको राष्ट्रिय मुक्ति संघर्ष र वीर मधेसी सहिदहरुको सम्मान र सपनासंग जोडिएको हुनाले नितिगत, रणनीतिक र न्यायको हिसाबले पनि यो प्रदेशको नाम ‘मध्य मधेस’ हुनु पर्छ । यो आलेखमा यसको पक्षमा केही आधारहरु प्रस्तुत गरिएको छ ।

आधुनिक नेपाल राज्यको स्थापना काल देखि नै मधेस आन्तरिक उपनिवेश और राष्ट्रिय उत्पीडनका शिकार हुदै आइरहेको छ । मधेस आन्दोलन मुलतः यहि उपनिवेशवादको अन्त्य र मधेसको राष्ट्रिय मुक्तिमा केन्द्रित थियो । यसमा नेपाल राज्यको पुन:संरचना गर्दै संघीय व्यवस्थामा स्वायत्त मधेस प्रदेशको स्थापनाको संकल्पना निहित थियो ।

अहिलेको संघीय संरचना मधेस आन्दोलनले खोजेको जस्तो छैन । यो स्वायत्त मधेस प्रदेशको स्थापनाको सपना माथी तुषारापात गरेको छ । सम्पुर्ण मधेसलाई खण्ड खण्डमा विभाजित गरेको छ । यो नेपाली बर्चस्ववादी नश्लीय राज्य सत्ताको मधेसलाई खण्डित र कमजोर पार्ने षड्यन्त्र हो । तर अहिलेको दुई न. प्रदेशको स्थापना मधेस मुक्तिको आन्दोलन कै आंशिक उपलब्धि हो ।

‘मध्य मधेस’मा मधेस आन्दोलनको आंशिक उपलब्धि र अपुरो मधेस मुक्तिको यात्राको अर्थ निहित छ । र यसले भविष्यमा पुर्वीय मधेस र पश्चिम मधेसलाई पनि मुक्त गर्नु पर्ने राजनीतिक कार्यदिशा र एतिहासिक दायित्वलाई निर्धारित गर्छ । यसले दुई न. प्रदेशलाई अबको मधेस राष्ट्रिय मुक्तिको आन्दोलनको लागि आधार ईलाकाको रूपमा विकास गर्ने संभावना प्रस्तुत गर्छ ।

राजनीति मुक्ति मा नै भाषिक र सांस्कृतिक मुक्ति अन्तर्निहित हुन्छ । मधेसको राजनीति मुक्तिमा नै मिथिला-भोजपुरा सहित मधेसको अन्य भाषा-संस्कृतिको मुक्ति निहित छ । मधेसको राष्ट्रिय मुक्ति नभए सम्म मधेसको कुनै भाषा- संस्कृति को मुक्ति वा विकास संभव छैन । मधेसको राष्ट्रिय मुक्ति विना भाषिक वा सांस्कृतिक मुक्ति केवल मृगतृष्णा हुनेछ । अहिले मधेसको राष्ट्रिय मुक्तिको आन्दोलन र राजनीति नै संकटमा रहेकोले हाम्रो सबै प्रयास मधेसी राष्ट्रिय चेतनाको विकास र मुक्तिको संभावनालाई जिवित राख्नमा केन्द्रित हुनु पर्छ ।

मिथिला वा यस्ता अन्य नामहरुमा मधेसका अन्य भुभाग का मधेसीहरुलाई सद्भाव भए पनि अपनत्व र स्वामित्व हुने छैन । तर ‘मध्य मधेस’ले पुर्व र पश्चिमको मधेस सहित सम्पुर्ण मधेसमा भावनात्मक एकता स्थापित गर्ने छ । यो मधेसी राष्ट्रिय चेतनाको निर्माण र मधेस मुक्ति संघर्षको लागि आधार तैयार गर्ने छ ।

अहिलेको चर्चामा दुई प्रकृतिका नामहरु रहेका छन । चर्चामा रहेका एउटा प्रकृतिको नामहरु प्रदेश न. दुईको भाषा-संस्कृति र एतिहासिक धरोहरमा आधारित छन, जस्तै – मिथिला, मिथिला-भोजपुरा, विदेह वा जनक प्रदेश । दोस्रो प्रकृतिको नामहरु ‘मधेश’ संग अन्तरसम्बन्धित छ, जस्तै- ‘मधेश प्रदेश’ ।

भाषा-सांस्कृतिक/एतिहासिक धरोहरमा आधारित नामको सम्बन्धमा

प्राय भाषा-संस्कृति क्षेत्रमा काम गर्ने र रुची राख्ने व्यक्तिहरुमा भाषा-सांस्कृतिक वा एतिहासिक धरोहरसंग अन्तरसम्बन्धित नाम हुनु पर्ने विशेष आग्रह देखिन्छ । उनीहरुको बुझाईमा यसले स्थानीय संस्कृतिक पहिचान सम्मानित र संरक्षित हुनेछ । लामो समय सम्म सांस्कृतिक-भाषिक उत्पीडनमा रहेको समुदायको लागि सांस्कृतिक/ भाषिक वा एतिहासिक धरोहरको आधारमा नामाकरण हुनु धेरै अर्थमा उपयुक्त र स्वाभाविक नै देखिन्छ । तर समग्र मधेश बृहत हित र नीतिगत, रणनीतिक र न्यायको हिसाबले पनि यी दुई न. प्रदेशको सन्दर्भमा यी नामहरु उपयुक्त हुने छैन ।

नेपालमा संघिय व्यवस्था अन्तर्गत अन्य प्रदेश सहित दुई न. प्रदेशको स्थापना महान मधेस आन्दोलनको जगमा भएको हो । अहिलेको संघीय संरचना संघीय सिद्धान्त र मधेस आन्दोलनको मांगको अनुरुप नभए पनि यो मधेस आन्दोलनकै आंशिक उपलब्धि हो । यो उपलब्धि प्राप्त गर्न तीन-तीन वटा मधेस आन्दोलनको क्रममा सयौं वीर मधेसीहरु सहादत दिएका छ्न भन्ने हजारौंको संख्यामा अंगभंग र घाइते भएका छ्न । यो सबै मधेसको पहिचान, सम्मान र स्वायत्त मधेस प्रदेशको स्थापनाको लागि भएको थियो । आन्दोलनको क्रममा आन्दोलनकारीहरु मधेश भरी नै नेपाल सरकारको ठाउँमा ‘मधेश सरकार’ लेखेका थिए । यसमा नै सम्पूर्ण मधेश आन्दोलनको भावनाको सारमा अभिव्यक्त भएको थियो । अत: मधेस आन्दोलन कुनै भाषा संस्कृतिको विशेष राज्य को स्थापना हैन कि एउटा मजबुत स्वायत्त मधेस राज्यको परिकल्पना गरेको थियो ।

अहिले को प्रदेश न. दुई प्रदेशको स्थापना केवल मिथिला-भोजपुरा क्षेत्रका आन्दोलन र सहिदहरुको लगानीले प्राप्त भएको छैन, यसमा पुर्वीय र पश्चिम मधेशका आन्दोलन र सहिदहरुको पनि उतिकै योगदान छ । अत: यो प्रदेशको नाम निर्धारण गर्दा उनीहरुको भावनाको पनि सम्मान र पुर्वीय र पश्चिम मधेसको स्वामित्व र अपनत्व हुने प्रकृतिको हुनु पर्छ । यसमा उनीहरुको मुक्तिको पनि कार्यदिशा र आस्वासन हुनु पर्छ ।

पछिल्लो समयमा नेपालको राजनीतिमा ‘मधेस’ शब्द राष्ट्रिय उत्पीडनबाट मुक्ति र प्रतिरोधको राजनीतिको प्रतीक रूपमा स्थापित भएको छ । अहिले पूर्वीय र पश्चिम मधेशमा मधेश राजनीति संकटमा छ । यदि दुई न प्रदेशमा पनि मधेश विमर्शलाई जीवित राख्न सकिएन भने मधेश विमर्श नै संकटमा पर्ने छ । एतिहासिक वा सांस्कृतिक नाम मधेशको प्रतिरोधी विम्बको प्रतिस्थापन वा क्षतिपूर्ति हुन सक्दैन । मिथिला तथा यस्ता सांस्कृतिक/एतिहासिक नाम मधेशको आन्तरिक एकतालाई खण्डित गर्ने छ जो अहिलेको समयमा दुर्भाग्यपूर्ण हुनेछ ।

‘मधेस प्रदेश’ नामाकरणको अर्थ 

 स्वायत्त मधेस प्रदेशको स्थापना मधेश आन्दोलनको मुल ध्येय थियो । यस अर्थमा पुर्व झापा देखि पश्चिम कंचनपुरपुर सम्मको भुभागलाई मधेस आन्दोलनले ‘मधेस’ को रूपमा पुन: स्थापित र नविकरण गरेको थियो । यसमा गैरवशाली मधेस राष्ट्रको स्थापना तथा यसको मुक्तिको अधार पनि निहित थियो । तर अहिले मधेस मुक्तिको यात्रा अधुरो र अपुरो अवस्थामा छ । हामी केवल मधेसको मध्य भुभागलाई मात्र दुई न प्रदेशको रूपमा स्थापित गर्न सफल भएका छौ । त्यो पनि स्वायत्त इकाई को रूपमा हैन । तसर्थ यस उपलब्धिलाई हामी ले सम्पुर्ण मधेसको मुक्तिको लागि रणनीतिक रूपमा उपयोग गर्नु पर्छ ।

यसको ‘मधेस प्रदेश’ नमाकरण आफैमा मधेस आन्दोलनको मुल कार्यभार र मर्म प्रति गद्दारी हुनेछ । ‘मधेस प्रदेश’ नामाकरण एक अर्थमा मधेस आन्दोलनको मुल उदेश्यको प्राप्ती पूरा भैसकेको र मधेस मुक्तिको संघर्ष को विसर्जनको औपचारिक घोषणा हुनेछ । यो आफैमा त्रासदी हुनेछ । यो वर्चस्वशाली नेपाली राज्य सत्ताको मधेसलाई सप्तरी देखि पर्सा सम्म सिमित गर्ने षड्यन्त्रमा सहभागी हुने सरह हुनेछ । यसले केवल मधेसवादी शक्ति र नेतृत्वको पूर्ण सहवरण स्पष्ट हुने मात्रै हैन कि गौरवशाली मधेस आन्दोलनको पनि गरिमाको क्षय हुनेछ । यो बृहत मधेसी पहिचान, स्वाभिमान र स्वायत्तताको लागि ज्यान उत्सर्ग गरेका सहिदहरुको सपना संगको विश्वासघात हुनेछ ।

सारमा 
दुई न प्रदेशको अन्य नामहरु पनि केही अर्थमा उपयुक्त देखिए पनि सम्पुर्ण मधेसमा एकता स्थापित गर्ने सवाल र मधेसी राष्ट्रिय चेतनाको विकासको लागि ‘मध्य मधेस’ नै सर्वाधिक उपयुक्त नाम हो । यसले मधेसको मुक्तिको राजनीतिको बाँकी कार्यसुची र कार्यदिशा निर्धारण गर्छ । यसले पुर्वीय र पश्चिम सहित सम्पुर्ण मधेसको आन्दोलन र सहिदको सम्मान हुनेछ । सबभन्दा महत्त्वपूर्ण यसले मधेसलाई नेपालको राजनीतिक  विमर्शमा जिवित राख्दै भावी मधेस मुक्तिको संघर्षको दुई न प्रदेशलाई आधार ईलाकाको रूपमा स्थापित गर्ने छ । अत: नीतिगत र रणनीतिक हिसाबले दुई न. प्रदेशको नाम ‘मध्य मधेश’ नै सर्वाधिक उपयुक्त देखिन्छ।