नेपालको संविधान दिवसमा मधेसले आज कालो दिवस दिवस मनाउदै

असोज ३:

संविधान जारी भएको दिन (असोज ३) गतेलाई नेपाल सरकारले संविधान दिवसको रुपमा मनाउने निर्णय गरे पनि मधेसी युवाहरुले यस दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ।

तराई मधेस राष्ट्रिय परिषद (TMNC) द्वारा जारी गरिएको प्रेस विज्ञप्तिका अनुसार अाज ४ बजे काठमाण्डौको  माइतीघर मन्डला र तराई मधेशका सबै जिल्लाको विभिन्न स्थानहरुमा शान्तिपूर्ण बिरोध सभाको आयोजना हुदै छ ।

सो विज्ञप्तिका अनुसार :

तराई मधेश राष्ट्रिय परिषद (TMNC) एक युवाहरुको स्वयंसेवी मिसनरी संगठन हो, जसले तराई-मधेसमा विद्यमान    राजनैतिक र सामाजिक समस्याहरु समाधान हेतु बिभिन्न किसिमका अभियानहरु संचालन गर्दै आईरहेको छ । यसको ठहरमा मधेसको मूल राजनैतिक सवाल आन्तरिक उपनिवेशवाद र राष्ट्रिय उत्पीडनबाट मुक्तिको सवाल हो । तसर्थ, यसको मूल उदेश्य विभिन्न अभियानहरुद्वारा देशभित्र स्वायत्तता, समानता र आत्मसम्मान स्थापित गर्न सक्षम युवा नेतृत्वको विकास गर्दै सुदृठ राष्ट्रिय समाजको निर्माण गर्नु रहेको छ ।

TMNC सँग आबद्ध मधेशका युवाहरुले  नेपालको संविधान कार्यान्वयनका लागि हालै भएको स्थानीय निकायको चुनावसमेत बहिष्कार गर्दै असोज ३ गते सरकारले घोषणा गरेको संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरका छन् ।

यो मधेशीहरुको रगतले लेखिएका दस्तावेज हो भन्नी तर्क गर्दै TMNC का युवाहरुले भने:

सम्मान र अधिकारको सुनिश्चितता माग्दै भएको यो संविधान निर्माणको प्रकृया देखि, संविधान जारीअघि र पश्चातसम्म निरन्तर चलेको आन्दोलनमा पचासभन्दा बढी वीरहरु शहादत भए । यो जारी भएकै (असोज ३ गते) दिन बिरगंजमा निस्केको जुलुसमा सहभागी शत्रुघन पटेल सुरक्षाकर्मीले चलाएको गोली लागेर शहिद भए । एकातिर संविधान जारि भएको उपलक्ष्यमा देश केहि भू-भागमा दीपावली मनाईरहेको अवस्थामा मधेसले आँगनमा लास राखेर शोक मनाउदै थियो।

अधिकार माग्दा आफ्नो परिवार तथा आफन्तले ज्यान गुमाउनु परेको दिनलाई संविधान दिवस नभई बार्षिकीको रुपमा मनाईरहेको छ ।

यो संविधान स्वरूपमा अन्तरविरोधी र सारमा विभेदकारी छ  । यसले मधेशी र अन्य सीमान्तकृत समुदायहरुको राष्ट्रिय उत्पीडनबाट मुक्तिको एतिहासिक सपनालाई हत्या गरेको छ  । यो संविधान निर्माणको प्रकृया र प्रकृति दुवै दोषपूर्ण रहेको छ । यसले स्वाधीनता, समानता र सामाजिक न्यायको लागि भएको मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरुको सहादतको अपमान र लोकतान्त्रिक आन्दोलनहरुको भावनालाई तिरस्कार गरेको छ । यो संविधान मधेशी तथा नेपालका अन्य उत्पीडित समुदाय माथिको नियन्त्रणलाई अच्छुन राख्ने संकृण नश्लीय मनोकांक्षाबाट ग्रसित देखिन्छ  । यस अर्थमा यो संविधान अन्याय र असमानतालाई संस्थागत गरका छन ।

TMNC ले राज्य र राजनैतिक दलहरुलाई यस्तो चुनौति पनि दिए:

यो संविधानको निर्माण आफैमा नेपाली राजनीतिमा प्रतिगमन हो  । यसको लागि तिन प्रमुख दल समान रुपमा दोषी छन । यसको विरुद्धमा मधेशवादी दल निरन्तर संघर्ष गर्दै आएको थियो । यस विचमा संविधान संसोधनको विभिन्न नकली  प्रयासहरु भए पनि यसले मुल समस्यालाई सम्वोधन गर्न सकेन । पच्छिलो कालमा छद्म युद्धको रुप अख्तियार गरिसकेको नेपाली राजनीतिमा मधेशवादी दलहरुको पराजय र चुनाव रुपी अनुष्ठानमा समर्पण पछि मधेसीहरुको आन्दोलनको विसर्जन भएको ठान्ने ठूला राजनैतिक दलहरु लगायत जो कोहीका लागि त्यो ठूलो भूल हो । अहिले पनि मधेशी राष्ट्रियमा आन्दोलनको बिज व्यापक रुपमा विधमान  रहेको र मधेशमा प्रतिरोधको राजनीति जीवित रहेको कुरा अवगत गराउन चाहन्छौ  ।

TMNC ले संविधान संसोधनका माँग राखेका छन् :

देश र मधेशको दिर्घकालिन हितमा मधेशी र अन्य सिमान्तकृत समुदायको न्याय र समानताको आकांक्षा र लोकतान्त्रिक आन्दोलनहरुको भावना अनुरुप यस संविधानमा तात्विक र सार्थक संसोधन हुनु आवश्यक छ । संसोधन विना नै यो विभेदकारी संविधान अन्तर्गत हुने चुनावमा मधेशवादी दलहरु सहभागी हुदैमा यो संविधान मधेसी समाजमा वैधता पायो सोच्नु आफैमा भ्रम हो  ।

TMNC का अनुसार

असोज ३ मधेसीहरुको लागि कालो दिनको रुपमा रहिरहने छ जबसम्म मधेसीहरुको मुद्दाहरु सम्बोधन हुनेगरी यस संविधानको तात्विक संसोधन गरिदैन । जबसम्म संसोधन गरिदैन, तबसम्म यो संविधानको वैधतामाथि प्रश्न चिन्ह रहीरहने छ । मधेसीहरुको भावनालाई समेट्ने गरी संसोधन गरेमा मात्र मधेसीहरुको यो संविधानमा आफ्ना स्वामित्व हुन्छ र अनि मात्र हामी संविधान दिवस मनाउने अवस्थामा हुनेछौ ।